Monday, 13 September 2021

लेख

 


यो तीजमा आमालार्ई छोरीको पत्र

धर्मकुमारी (कालाखेती) भण्डारी

सुन्दरहरैंचा नगरपालिका –१२मोरङ

 

आदरणीय ममतामयी आमा,

        तपाईँकी छोरीको तर्फबाट धेरै धेरै सम्झना तथा नमस्कार छ ।

यहाँ हामी आजका मिति सम्म तपार्इँहरूका आशिर्वादले स–परिवार सञ्चै छौँ । त्याहाँ हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु । सँधै झै यसपाली पनि बाली लगाई सकिएको छ र अब चाड पर्वको समय सुरु हुनै लागेको छ । अरु चेलीका जस्तै मेरा आँखा पनि अब माइती तिर नै टोलाउन थालिसकेका छन् । तर देश काल र परिस्थिति राम्रो नभएको बेला यसपालीको तीज कस्तो होला भन्ने अनुमान गर्र्दैछु । पोहोरको सम्झना ताजै छ । बा आमासँग सँगै बसेर यसपालिको तीज मनाउन आउन सकिन्न कि जस्तो छ । निर्णय गर्न सकिन । त्यसैले हजुरको सुझाव अमूल्य हुने ठानी यो चिठी पठाउदै छु ।

आमा ! तपाईँलाई थाहै छअहिले संसार कोरोना सङक्रमणको चपेटामा छ र नेपाल आमा पनि यसैको पीडामा छटपटाईरहेकी छन् । यो ठाउँ त्यो ठाउँको कुरै रहेन । सारा संसार पीडामा छटपटिइरहेको छ । सुन्दैछु माइती गाँउमा पनि कोराना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ अरे । म आउने घरका आँगनमा पनि अहिले म पनि आउदिन तपाईँ पनि नआउनु भनेर घेरा बारा लगाएर बसेका छन् अरे भन्नेपनि पल्ला घरे माल्दाइको फेसबुकको खबरबाट थाहा पाएकी छु । अनि तपाईँ भने पीँढिमा बसेर छोरीहरू आउछन् भनेर टहलिदै हुनु हुन्छ होला । म आएँभने पनि तपार्इँसँग भेट नगरी फर्किनु पर्ने पो हो कि भन्ने डरमा छु । देशका अरु धेरै ठाँउमा पनि बन्दाबन्दीको अवस्था छ । समाचारमा पनि सङक्रमितको सङख्या र मृतकको सङ्ख्या बढीरहेको सुनिरहेकी छु । ममेरा छोराछोरी र तपाईकै जुवाईँ बसेका ठाउँमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । एकै छिनमा के हो कसो हो भन्न सकिने अवस्था छैन । कसलाई सङक्रमण छ त्यो पनि थाहा छैन । यो माहामारी अहिले भुषमा आगो सल्किए जस्तो सल्कदै छ । त्रास बढिरहेको छ । सरकारले घरबाट बाहिर ननिस्कन भनेर सूचना गरेको गरेकै छ । नजिकैका सरकारले त झन बेरा नै लगाएका छन् । मैले मेरा सरकारहरुको आदेश नमानेर घेरा मिचेर घर छोड्न सक्छु कि सक्दिन मलाई नै थाहा छैन ।

यो माहामारीबाट जोगिन घरमा नै बस्नु है भनेर तपाईँले भनेको पनि मैले सम्झिइरहेकी छु । त्यसैलाई नै सावधानको अचुक औषधी मानेकी छु । त्यसैले म यसपालि धेरै दोधारमा छु । कतै म र म जस्ता चेलीबेटीका माइत जाने असावधानी रहरले अरु मानिसको जीवन जोखिममा पर्ने पो हो कि त्यसैले यसपालिको तीजमा म यही  बसेर मनाउने निर्णय गरौँ कि भन्दैछु । यो दोधारले केही पनि निर्णय गर्न सकेकी छैन । जाँतेकी माहिली र कर्जुनाकी कान्छी बहिनीले पनि निर्णय गर्न सकेका छैनन् । उनीहरुलाई मैले आमा बा को चित्त नदुखाउने उपाय गरौँला भनेकी छु । थोरबहुत दिदी बहिनीका कुराकानीमा यसपाली तीज आ–आफ्नै घरमा मनाउने सल्लाहा भइरहेको छ । मेरी छोरीले पनि यसपालि मामलमा नजान सल्लाहा दिदैछन् । आमा ! मैले यता पनि हाम्रा चेलीबेटीलाई निम्ता गरे पनि यसपाली माइत आउन नसकिने जानकारी दिँदै दुःख नमान्नु भन्नु भएको छ र मैले पनि उहाँहरूलाई आउन कर गर्न सकिन । अनि तीजको रमाइलो र मिठो मसिनो पनि स्थगित छ । कोरोना गएपछि भेला भएर रमाइलो गर्ने सल्लाह मिलाएका छौँ । 

आमा ! अनि मेरा दाजुलाई पनि हतारमा बैनी लिन नपठाउनुहोला । अहिले त फोन पनि छ । तै आउछे की भनेर धेरै पटक फोन गर्न नभन्नुहोला किनकी तपाईका टेलिफोनका तारन्तारका खबरले मलाई माइत आउने तिब्र इच्छाले मेरा पाइला नरोकिन सक्छन् किनकी मलाई पनि त कतिबेला आमा बुबालाई भेटौँ भन्ने कति हो कति मन छ । तर जोखिममा परिने र पारिने हो कि के हुन्छ थाहा छैन । मलाई थाहा छ तपाँइको मन सजिलै मान्दैन अनि मेरो मन पनि । हाम्रो अनुपस्थितिमा तपाईलाई तीज धेरै नै खल्लो हुन्छ भन्ने मैले बुझेकी छु । साच्चै नै सन्तान भनेको मुटुको टुक्रा हो भन्ने कुराको महशुस अब त मलाई पनि भइसकेकै छ ।

मेरी प्यारी आमा ! तपाईले रातो सारी लागाएर बाहिर भित्र गरेकोहातभरी लगाएका चुराको आवाजके खान्छौ भनी पटक पटक सोध्नुभएकोभाउजुले बनाएको दहीकाक्रो कत्ति मिठो थियो । साच्चै त्यस्तो मिठो त मैले बनाउदा कहिल्यौ भएन । वर्त बसेकोमन्दिरमा गएर नाचेकोनाच हेरेको मेरो मनमा झलझली याद आइरहेको छ । बुबाले हामी सबै भेला भएर नाच्दा मानेको रमाइलोबजाउनु भएको तालि पनि झलझली नै यादमा छ । बुबाले हामीलाई थाहा नदिइ कन रातिनै उठेर पकाएको ढकने निन्द्रामा नै भएपनि सबै उठेर खाँदा  कत्ति रमाइलो र मिठो भएको थियो कति । यि सबै कुरा सम्झँदा अहिले पनि मलाई हजुरहरूसँगै भएजस्तो लाग्छ । पोहोरको रमाइलो व्यक्त्त गर्ने कुनै शव्द नै छैन । मैलै यि सबै रमाइला क्षणहरूलाई जस्ताको तस्तै मनमा सम्हालेर राखेकी छु । पोहोर सालको त्यो क्षण सम्झदा घरी घरी त मेरा आँखा आफै रसाउछन् । तपाईँसँगै बसेर धेरै दुःख सुखका गफ गर्न मन छ तपाइँका धेरै धेरै अर्तीका कुरा सुन्न बाँकी नै छ । माइत आउने मन त कति छ कति तर के गर्नु आफ्नो मनलाई  आफैले  संझाउदै छु तर पनि यो मन मानेकै छैन ।

गाँउघरमा यसपालि अघिल्लो सालको जस्तो चोक चोकमा गएर धुमधामसँग नाचगान पनि नगरौँ भन्ने सल्लाहा गरेका छौँ । यो साल तीज मनाउने तरिका बदलौँ भन्दै छौँ। मैले देखीरहेकी छु कति बहिनीदाजु र भाइहरु अनलाइन मार्फत पनि रमाइलो गरीरहेका छन् भने कति चेलीबेटीका दाजु भाइको महामारी बाढी र पहिरोले जीवन गुमेको छ । कतिको रोजगारी गुमेको छकति आमाहरू सन्तानको पीडामा हुनुहुन्छ छरछिमेक र आफन्तहरू कति क्वारेन्टिनमा र आइसोलेसनमा हुनुहुन्छ । माहामारीकै सन्त्रासमा कति विदेशमा त कत्ति स्वदेशमा नै छटपटाई रहनु भएको छ । यस्तो अवस्थामा हामीले कसरी यो चाडलाई धुमधामका साथ मनाउन सक्छौ तपाई आफै भन्नु त तपाई त संसारकै ज्ञानी र महान आमाहामी सबैकी आमा । यो अवस्थामा तपाई हामीलाई के सल्लाहा दिनुहुन्छ धेरै चेलीहरूको अवस्था यस्तै छ । यसपटक को तीज हजुरहरूले जिम्मा लगाएकै घरमा मनाए भने के भन्नु हुन्छ तपाईको उचित सल्लाहाको प्रतिक्षामा रहने छु । हामी सबैकी संसारकै माहन र प्यारी आमा यो पत्र पाएपछि सकेसम्म मलाई लिन माइती नपठाउदा म दुःखी हुने छैन । म तपाईँकै काखमा हुनेछु र तपाईँकी यो छोरीको मायामा कुनै कमी हुने छैन ।

अन्त्यमायो पत्र पाउना साथ बुबादाजु–भाउजुभाई–बहिनीहरुलाई सुनाईदिनु होला । अनि मलाई सम्झने छरछिमेकका दिदी बहिनीलाई पनिा मेरो सम्झना र सन्देश अनि मिठो माया पनि सुनाइदिनु होला भन्दै अहिलेलाई विदा चाहान्छु ।

                                                  उही तपाइकी प्यारी छोरी

No comments:

Post a Comment

My Creation